कोप–३० आयोजना स्थलमा आगलागी, १३ जना धुवाँबाट प्रभावित
काठमाडौँ, ५ मङ्सिर – ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन (कोप–३०) आयोजना स्थलमा आगलागी भएको छ। आगलागीपछि सुरक्षाका लागि परिसरभित्र रहेका सयौँ व्यक्तिलाई तत्काल बाहिर निकालिएको छ।बीबीसीका पत्रकारहरू, जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए, पभिलियन क्षेत्रमा अचानक आगो र धुवाँ देखिएपछि उनीहरूलाई तुरुन्तै सुरक्षित स्थानतर्फ सारिएको बताइएको छ।
संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइएको हो। धुवाँको असरबाट १३ जना बिरामी परेका छन् र उनीहरूको उपचार भइरहेको बीबीसीले जनाएको छ। आयोजक समितिले सबैको स्वास्थ्य अवस्थामाथि निगरानी राखिएको र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको जनाएको छ।
आगलागीका कारण सम्मेलन कार्यसूची केही समयका लागि अवरुद्ध भएको छ। वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयासलाई सुदृढ बनाउने विषयमा छलफल गर्दै गरेका बेला यस्तो घटना भएको हो। आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ब्लु जोनमा आगलागी भएपछि दमकल तथा युएन सुरक्षा टोली तत्काल परिचालन गरियो।
आगो छिट्टै नियन्त्रणमा ल्याइयो र परिसर खाली गराइयो।” आगलागीको कारण औपचारिक रूपमा खुलाइएको छैन। तर रोयटर्सले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै सम्भवत: कुनै विद्युतीय उपकरण — सम्भवतः माइक्रोवेभ — बाट आगो सुरु भएको हुनसक्ने अनुमान गरेको छ।

