एनपीएलः काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आज आमनेसामने
काठमाडौँ, ३ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। काठमाडौँ दोस्रो जितका खोजीमा छ भने सुदूरपश्चिमले सुखद् सुरुआत गर्ने लक्ष्य राखेको छ। काठमाडौँले उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुरुआत राम्रो गरेको थियो।
काठमाडौँ गोर्खाजको कप्तानी करण केसीले गरिरहेका छन्। उनकी टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर, सन्नी पटेल, जोन सिम्पसन, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस, सन्तोष यादव र सोनु देवकोटा छन्।
सुदूरपश्चिम रोयल्सको नेतृत्व नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। टोलीमा विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत, नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा र हिम्मत महरा समावेश छन्।
काठमाडौँको प्रशिक्षकमा पूर्वराष्ट्रिय प्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा रहेका छन्। क्यानको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

