क्यासिनोलाई थप कानुनी दायरामा—पर्यटन विभागको १२ बुँदे निर्देशन

काठमाडौँ, ३ मङ्सिर – सरकारले क्यासिनोलाई व्यवस्थित, पारदर्शी र कानुनी रूपमा सञ्चालन गराउने उद्देश्यले १२ बुँदे कडा निर्देशन जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले सबै क्यासिनो व्यवसायीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा अन्य सम्बन्धित कानुनहरूको पूर्ण पालना गर्न निर्देशन दिएको हो।

निर्देशनका मुख्य बुँदाहरू यसप्रकार छन्–

१. सम्पत्ति शुद्धीकरण रोकथाममा कडाइ
क्यासिनोले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनको पूर्ण रूपमा पालना गर्नुपर्नेछ।

२. विदेशी मुद्रा कारोबारमा नियन्त्रण
नेपाल राष्ट्र बैंकबाट इजाजत नलिइ विदेशी मुद्रा कारोबार गर्न नपाइने चेतावनी विभागले दिएको छ।

३. नियमित विवरण पेश गर्न अनिवार्य
क्यासिनो नियमावली, २०८२ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशनअनुसारका विवरण नियमित रूपमा पर्यटन विभागमा पेस गर्नुपर्नेछ।

४. ग्राहक पहिचान प्रणाली (KYC) मजबुत
खेलाडीको पहिचान, बायोमेट्रिक विवरण अद्यावधिक गरी विभागले मागेमा तुरुन्त उपलब्ध गराउनुपर्नेछ।

5. CCTV अभिलेख ६ महिनासम्म सुरक्षित राख्नुपर्ने
क्यासिनोभित्रका सबै गतिविधि रेकर्ड हुने व्यवस्था अनिवार्य गराइएको छ।

६. तेस्रो पक्षलाई क्यासिनो सञ्चालन गर्न नदिने
सम्झौता वा अन्य माध्यमबाट तेस्रो पक्षमार्फत क्यासिनो सञ्चालन पूर्ण रूपमा निषेध गरिएको छ।

७. इजाजत लिएको स्थानबाहेक अन्यत्र क्यासिनो सञ्चालन निषेध

८. खेलाडीको जितमा तत्काल आकस्मिक लाभकर कटानी अनिवार्य
जित रकम भुक्तानी गर्नु अघि कर कटाउनुपर्नेछ, र त्यसको विवरण आन्तरिक राजस्व कार्यालय तथा विभाग दुवैलाई पठाउनुपर्नेछ।

९. अनलाइन वा इन्टरनेट आधारित क्यासिनो खेल पूर्ण प्रतिबन्ध

१०. क्यासिनो तथा होटल परिसरभित्र-बाहिर पर्याप्त सुरक्षा व्यवस्था अनिवार्य

११. ग्रे लिस्टबाट बाहिरिन आवश्यक सुधारात्मक कदम कार्यान्वयन
जोखिमका आधारमा हुने अनुगमनमा कमी हुन पाए कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

१२. कानुन विपरीत पाइएमा तत्काल कारबाही
अनुगमनमा निर्देशनमाथि अवहेलना भए कडाइका साथ कारवाही गरिने विभागले स्पष्ट पारेको छ।

यस निर्देशनसँगै क्यासिनो क्षेत्र अझ पारदर्शी तथा नियमनित ढङ्गले सञ्चालन गर्ने सरकारको प्रयास बलियो बनेको छ।

Facebook Comments Box