प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला, ३० कात्तिक – सिमकोट–नेपालगञ्ज हवाई मार्गमा टिकट वितरण पारदर्शी बनाउने मागसहित तीन निजी एयरलाइन्सका कार्यालयमा गरिएको तालाबन्दी हटाइएको छ। हवाई टिकट वितरण प्रक्रिया मिलोमतो र अन्योलपूर्ण भएको भन्दै सिमकोट गाउँपालिका–५ का युवाले शुक्रबार कार्यालयमा तालाचावी लगाएका थिए।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकपछि शनिबारे ताला खोलिएको हो। राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सुरक्षा निकाय तथा एयरलाइन्सका प्रतिनिधि सहभागी बैठकले टिकट वितरणका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ।

मुख्य निर्णयहरू

  • प्रत्येक उडानमा दुई टिकट अनिवार्य रूपमा बिरामीका लागि छुट्याइने।

  • तीन सरकारी कर्मचारीका टिकट जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेर उपलब्ध गराउने।

  • तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइनमार्फत वितरण गर्ने।

  • सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयलाई वडा कार्यालयको सिफारिसमा एक–एक टिकट उपलब्ध गराउने।

  • बाँकी टिकट एयरलाइन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने।

बैठकअनुसार अब सिमकोट–५ र ६ ले पहिलोपटक हवाई टिकटमा आरक्षण सुविधा पाउनेछन्। यसअघि पन्ध्र सिट क्षमताका जहाजमा भनसुनका आधारमा टिकट वितरण हुँदै आएको आरोप लगाइन्थ्यो। नयाँ निर्णय सीता एयर, समिट एयर, तारा एयर र नेपाल एयरलाइन्सका सिमकोट–नेपालगञ्ज सम्पूर्ण उडानमा लागू हुने छ।

युवाले शुकबार बिहान टिकट वितरणमा अनियमितता भएको भन्दै तालाबन्दी गरेपछि प्रशासनले तत्कालै सम्बन्धित सबै सरोकारवालालाई सहभागीसहित बैठक बोलाएको थियो। निर्णयलगत्तै एयरलाइन्स कार्यालयका तालाहरू खोलिएका छन्।

Facebook Comments Box