क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह
काठमाडौँ, ३० कात्तिक – गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनका कारण भएको क्षतिको विस्तृत विवरण उपलब्ध गराउन सरकारले सबै स्थानीय तहलाई आग्रह गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै क्षतिको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन अनुरोध गरेको हो।
मन्त्रालयले कात्तिक २७ गते जारी गरेको पत्रमा आन्दोलनका क्रममा भएको क्षति अनिवार्य रूपमा अनलाइन पोर्टलमार्फत प्रविष्ट गर्न स्थानीय तहलाई निर्देशन दिएको उल्लेख छ। मन्त्रालयका अनुसार क्षतिको विवरण प्रविष्ट गर्ने विधि तथा आवश्यक जानकारी स्थानीय तहलाई उपलब्ध गराइनेछ। पुनर्निर्माण तथा पुनर्स्थापनाका कामका लागि यथार्थ विवरण अत्यावश्यक भएकाले शीघ्र तथ्याङ्क उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिएको छ।
आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण योजनाका लागि सरकारले असोज ५ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार पाँच सदस्यीय समिति गठन गरेको थियो।तथ्याङ्क सङ्कलनमा एकरूपता ल्याउन समितिले अनलाइन पोर्टल तयार पारेको र स्थानीय तहअन्तर्गतका सबै कार्यालय तथा संरचनाको क्षतिको विवरण सोही पोर्टलमा प्रविष्ट गर्न सूचित गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। कुनै विवरण छुटेमा समेत पोर्टलमार्फतै अपलोड गर्न मन्त्रालयले पुनः आग्रह गरेको छ।

