सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २७ कात्तिक – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन देशभरको सुरक्षा संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दज्र्यानी चिह्नबाट विभूषित गरेपछि गृहमन्त्री अर्यालले उहाँलाई प्रहरीको मनोबल उच्च राख्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको हो।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनअनुसार शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सम्पूर्ण संगठनलाई पूर्ण समर्पणका साथ परिचालित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गृहमन्त्रीको सचिवालयका अनुसार, गृह प्रशासनले निर्वाचनलाई लक्षित गर्दै सुरक्षात्मक तयारीलाई थप सुदृढ बनाउने, जोखिम क्षेत्र पहिचान गरी आवश्यक जनशक्ति र स्रोत साधन परिचालन गर्ने कार्यलाई प्राथमिकता दिएको छ।

यसैबीच, गृहमन्त्री अर्याल र महानिरीक्षक कार्कीले आज जेनजी आन्दोलनका घाइते तथा जेनजी प्रतिनिधिहरूसँग भेट गर्नुभएको छ। भेटमा घाइतेहरूले उपचारको व्यवस्था र जेनजी आन्दोलनका न्यायोचित मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।

Facebook Comments Box