प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ, २७ कात्तिक – नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनको मनोबल वृद्धि गर्दै सरकार र जनताको अपेक्षा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा दज्र्यानी चिह्न ग्रहण गरेपछि संक्षिप्त मन्तव्य राख्दै उहाँले सुदृढ नेतृत्व र सामूहिकताका साथ संगठनलाई अघि बढाइने बताउनुभयो।

“अपराध र सुरक्षा चुनौतीका बदलिँदा स्वरूप, सूचना प्रविधिको तीव्र विकास र सुशासनप्रतिको जनअपेक्षाअनुसार उच्च मनोबलयुक्त प्रहरी संगठन निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु हाम्रो साझा जिम्मेवारी हो,” प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो।

उहाँले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई प्रहरी तत्कालै जनसेवामा परिचालित भएको बताउनुभयो। छोटो समयमै संगठनका संरचना र सेवामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको उहाँको भनाइ थियो।

२८ वर्षे प्रहरी सेवामा प्राप्त अनुभवका आधारमा संगठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा सरकारले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै उहाँले संगठनलाई अझ सुदृढ, जनमुखी र जिम्मेवार बनाउने प्रतिज्ञा गर्नुभयो।

गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले समारोहमा महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो। पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको अवकाशपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येका वरिष्ठतम् कार्कीलाई प्रहरी संगठनको प्रमुखमा नियुक्त गरेको हो।

समारोहमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, प्रहरी तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, साथै गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box