करिब ५३ करोडमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु
म्याग्दी, २४ कात्तिक – म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिको काम औपचारिक रूपमा सुरु गरिएको छ। गण्डकी प्रदेश र संघीय सरकारको ५०÷५० प्रतिशत साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्र योजना प्रारम्भ भएको हो।
पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिम क्षेत्रमा पहिलो चरणको सडक फराकिलो पार्ने काम सुरु गरिसकेको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिनुभयो।
उहाँका अनुसार, मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा रहेको यस सडकको स्तरोन्नतिको लागि रु ९२ करोड ९२ लाख बराबरको स्रोत सुनिश्चित भएको छ। “दरवाङ–धारापानी (७ किमी) र मच्छिम–मुना (४ किमी) खण्डमा अक्सफाल्ट प्रविधिबाट कालोपत्र र ढलान हुनेछ,” उहाँले भन्नुभयो।
संयुक्त प्राविधिक टोलीको सर्वेक्षणपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन गरिएको छ। गण्डकी प्रदेशमार्फत म्याग्दीमा आएको सबैभन्दा ठूलो बजेटको आयोजना यही हो। ठेक्का प्रतिस्पर्धामार्फत सबैभन्दा कम रु ५२ करोड ८० लाख ५३ हजार कबोल गर्ने निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो। प्रशासकीय खर्च बाहेक योजना लागत रु ६७ करोड अनुमान गरिएको छ।
प्रदेशसभा सदस्य जुग्जालीका अनुसार, यो सडक बनेपछि म्याग्दीको मालिका, धवलागिरि गाउँपालिका, बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवागमनमा करिब ७० किमी दूरी छोटिनेछ।
उहाँले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा रहँदा विसं २०८० माघमा यस सडकलाई संघीय समपूरक योजनामा समावेश गराएको बताउनुभयो।
२७ महिनाको ठेक्का अवधि रहेको यस आयोजनाको पहिलो चरणका लागि संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा रु २४ करोड र चालु आर्थिक वर्ष २०८२/८३ मा रु २३ करोड २२ लाख विनियोजन गरेका छन्।
यस सडकअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम हुँदै झिनडाँडा (४ किमी) खण्डमा कालोपत्र, ढलान र ग्राभेलका लागि रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो, जसमा हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
यसैबीच, बेनी–मालिका गाउँपालिकाको केन्द्र दरवाङ (२४ किमी) सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। बेनी–तोलाबाङ खण्डमा १८ किमी कालोपत्र सम्पन्न भइसकेको छ। गाउँपालिका–३ का अध्यक्ष तथा प्रवक्ता देवेन्द्र रोकाका अनुसार, यो सडक स्तरोन्नतिले धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक विकासमा रुपान्तरण ल्याउने विश्वास गरिएको छ।
विसं २०७१ मा मुना जोडिएको उक्त सडक हालसम्म कच्ची अवस्थामा रहेको र गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालन गर्दै आएको छ। स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा उत्साह छाएको उहाँले बताउनुभयो। यससँगै, मुना–खोरिया–मरेनी–जलजला हुँदै ढोरपाटन जोड्ने सडक खण्ड गत वर्ष खुलेको र हाल मर्मतका लागि सडक डिभिजनसँग सम्झौता भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो।
“बेनीदेखि मुना सडक स्तरोन्नति र जलजला हुँदै ढोरपाटन मार्ग विस्तार भएपछि स्थानीयवासी मात्र होइन, ढोरपाटन घुम्न आउने पर्यटकहरूलाई पनि निकै सहज हुनेछ,” उहाँले भन्नुभयो।

