प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौँ, २१ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गरी विवेकपूर्ण मत प्रयोग गर्न आह्वान गर्नुभएको छ।

प्रधानमन्त्रीले आज जारी गर्नुभएको भिडियो सन्देशमार्फत नागरिकलाई मतदाता परिचयपत्र बनाउने आग्रह गर्दै भन्नुभयो, “हामीले हाम्रो विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक मतदाता परिचयपत्र आवश्यक छ।”

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका तयारी स्वरूप निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म देशभर मतदाता नामावली सङ्कलनकार्य सञ्चालन गरिरहेको छ।

प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ। त्यसपछि विवेकपूर्वक सही प्रतिनिधि छान्नुपर्छ।”

उहाँले प्रत्येक योग्य नागरिकलाई आफ्नो मताधिकारको सदुपयोग गर्न आह्वान गर्दै थप भन्नुभयो, “तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुस्, विद्यमान बेथितिसँग लड्नुस्, र देश विकासको यात्रामा सँगै अगाडि बढ्नुस्। नजिकको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔँ।”

Facebook Comments Box