लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल
काठमाडौँ, २१ कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा होइन, संवाद र सहमतिमा बलियो हुने बताएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख–उपसभामुख, साथै प्रदेशसभाका सभामुख–उपसभामुखहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक आचरणलाई व्यवहारमा उतार्न जनताको आवाज सुन्नु जरुरी रहेको बताउनुभयो।
उहाँले जनताको सहभागिता र संवादकै माध्यमबाट लोकतन्त्र र संसदीय प्रणाली सुदृढ हुनेमा जोड दिनुभयो। राष्ट्रपतिले युवा पुस्तामा देखिएको सुशासन र विकासप्रतिको आकांक्षालाई सम्बोधन गर्न संविधानको रक्षा र लोकतान्त्रिक मूल्यको उन्नति सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो।
उहाँले संसदीय प्रणालीको सुदृढता कुनै एक दल वा नेतृत्वको मात्रै जिम्मेवारी नभई सामूहिक राष्ट्रिय दायित्व भएको स्पष्ट पार्दै भन्नुभयो, “संसद् र सरकारको भूमिका भनेकै जनताको आवाज सुन्ने, बुझ्ने र कार्यान्वयन गर्नसक्ने संरचना निर्माण गर्नु हो।”
राष्ट्रपति पौडेलले नेपालको संविधानलाई केवल कानुनी दस्तावेज नभई सहयात्रा, सहमति र सामूहिक सङ्कल्पको प्रतीकका रूपमा व्याख्या गर्दै यसको संरक्षण सबैको साझा प्रतिबद्धता भएको बताउनुभयो। उहाँले असन्तुष्ट स्वरहरूलाई बेवास्ता नगरी संवादमार्फत समाधान खोज्नु लोकतान्त्रिक अभ्यासको मूल आधार भएको उल्लेख गर्नुभयो।
राष्ट्रपतिले संविधानले राष्ट्रपतिलाई प्रदान गरेको अधिकारको सीमाबारे स्पष्टता दिँदै हालको जटिल राजनीतिक परिस्थितिमा राष्ट्रहित र जनताको सुरक्षाका लागि मात्र आवश्यक निर्णयहरू लिइएको स्पष्ट पार्नुभयो। उहाँले भने, “राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म सचेत र सतर्क छु।”
उहाँले आगामी प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरी मुलुकलाई सुरक्षित राजनीतिक अवतरण गराउने जिम्मेवारी राजनीतिक दलहरूको रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले दलका नेताहरूले देशको संवेदनशील अवस्थालाई नजरअन्दाज गरेर दिएको अभिव्यक्तिले जनतामा भ्रम फैलाउन सक्ने चेतावनी दिँदै भन्नुभयो, “राजनीतिक नेताहरूको कर्तव्य देशलाई अन्योलमा राख्ने होइन, अन्योलमुक्त बनाउने हो।”

