स्वास्थ्यमन्त्री डा शर्माद्वारा महाशाखा प्रमुख हेरफेर

काठमाडौँ, १९ कात्तिक – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। मन्त्रालयसँग सम्बन्धित कामकाजलाई अझ प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउन मन्त्रीस्तरीय निर्णयमार्फत उच्चस्तरीय कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

उहाँका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) र व्यवस्थापन महाशाखाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

निर्णयअनुसार डा. मदनकुमार उपाध्यायलाई परिवार कल्याण महाशाखाको निर्देशक, डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशक, केशव पण्डितलाई व्यवस्थापन महाशाखाको प्रमुख र डा. रोशन न्यौपानलाई इडिइसिडीको निर्देशक पदमा सरुवा गरिएको छ।

त्यसैगरी डा. पवनजङ्ग रायमाझीलाई उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा गरिएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो।

Facebook Comments Box