एउटै वडामा पाँच जलविद्युत् आयोजना सञ्चालन
म्याग्दी, १८ कात्तिक – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्र जलविद्युत् उत्पादनको केन्द्रबिन्दुमा परिणत भएको छ। यहाँ हालसम्म १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन्। यस्तै, ६३.३ मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन छ भने १७३.१४ मेगावाट क्षमताका थप दुई आयोजना निर्माण प्रक्रियामा छन्।
वडाध्यक्ष लोकबहादुर पुनका अनुसार, ५ मेगावाटको घलेम्दी खोला, ४२ मेगावाटको म्रिस्ती खोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२, र ६ मेगावाटको रेले खोला जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्।
त्यसैगरी, नारच्याङको सिमाना हुँदै बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ। साथै, ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण तयारीमा छ भने १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमै प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो।
जलविद्युत् विकाससँगै गाउँको कायापलट
यी आयोजनाले नारच्याङको भौतिक, सामाजिक र आर्थिक रुपान्तरणमा उल्लेखनीय प्रभाव पारेका छन्। “पहिले कल्पनै नगरेका ठाउँमा अहिले सडक पुगेका छन्, घरघरमा रोजगारी र आम्दानीका अवसर खुलेका छन्,” वडाध्यक्ष पुनले भन्नुभयो, “अब गाउँबाट सहर वा विदेश पलायन हुने क्रम घटेको छ, बरु फर्किने बढेका छन्।”
स्थानीय तेज गुरुङका अनुसार, जलविद्युत् आयोजनाले निर्माण गरेका सडक, बेलिब्रिज र भवनहरूले गाउँमा सहजता बढाएका छन्। जग्गा मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल–रेस्टुरेन्ट, ठेक्कापट्टा, यातायात र शेयर लगानीबाट गाउँलेको आर्थिक स्तरमा ठूला परिवर्तन आएका छन्।
संविधानअनुसार, जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी (सलामी दस्तुर) संघीय सरकारले ५० प्रतिशत, प्रदेश र स्थानीय तहले २५–२५ प्रतिशतका दरले बाँडफाँट गर्छन्। स्थानीय प्रभा माध्यमिक विद्यालयले हाइड्रो इञ्जिनियरिङ विषयमा पढाइ पनि सुरु गरेको छ।
सडक र पहुँचमा उल्लेखनीय सुधार
म्रिस्ती खोला जलविद्युत् आयोजनाले २०७१ सालमा कालीगण्डकी नदीमाथि बेलिब्रिज बनाएपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो। त्यसपछि फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरिएको हो। नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुँदै हुुमखोलासम्म पहुँचमार्ग बनाउँदा अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ। रेले खोला जलविद्युत् आयोजनाको सडक निर्माणपछि बेंसीदेखि लेक गाउँसम्म सडक सञ्जाल विस्तार भएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो।
स्थानीय लगानी र ऊर्जा प्रसारण
घलेम्दी र म्रिस्ती खोला जलविद्युत् आयोजनामा स्थानीयले प्रभावित क्षेत्रका बासिन्दाका रूपमा संस्थापक शेयर लगानी गरेका छन्। नीलगिरि–१, नीलगिरि–२ र रेले खोला आयोजनाका प्रवद्र्धकहरूले पनि शेयर निष्कासनको प्रक्रिया अगाडि बढाइरहेका छन्।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले दानामा २२० केभी क्षमताको सबस्टेशन निर्माण गरेको छ। २०७७ सालमा सम्पन्न उक्त सबस्टेशनमार्फत घलेम्दी, म्रिस्ती र थापा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा घलेम्दी खोलाका सञ्चालक प्रमोद श्रेष्ठका अनुसार, अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् लगानीकर्ताको सक्रियता तीव्र बन्दै गएको छ।

