डीसी चार्जिङ स्टेसन उद्घाटन
काठमाडौं, १४ भदौ – सरकारले विद्युत् खपत बढाउन चार्जिङ स्टेसन निर्माण गर्न प्राथमिकता दिन थालेको छ। नेपालमा धमाधम विद्युतीय गाडी भित्रिन थालेसँगै प्राधिकरणले चार्जिङ स्टेसनतर्फ ध्यान बढाएको हो।
विद्युत् खपत बढाउन उद्योग र घरायसी प्रयोजनमा ध्यान दिएको प्राधिकरण अब यातायाततर्फ लागेको छ। हालै विद्युत् प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच छुट्टाछुट्टै चार्जिङ स्टेसन निर्माण गरेको लागि सम्झौता गरेको छ। नेपाली सेनासँग छलफल भइरहेको जनाएको छ।
प्राधिकरणले आफ्नै परिसरमा निर्माण गरेको १२० किलोवाटको डीसी चार्जर ऊर्जा जलस्रोतमन्त्री पम्फा भुसालले उद्घाटन गराएको छ। मंगलबार मन्त्री भुसालले चार्जिङ स्टेसन उद्घाटन गर्दै अहिलेभन्दा १० गुणा सस्तो पर्ने दाबी गरेकी छन्।
उनले नेपालमा चार्जिङ स्टेसन निर्माणसँगै पेट्रोलियम पदार्थको लागि बाहिर जाने ठूलो रकम रोकिने समेत बताइन्। उनले उद्योग र घरायसी प्रयोजनको लागि विद्युत खपत भइरहेकोमा अब यातायात क्षेत्रले पनि विद्युत् खपत बढाउने बताइन्।
उनले विद्युत् प्राधिकरणसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग एमओयू र नेपाली सेनालाई चार्जिङ स्टेसनसँगै विद्युत् खपत बढाउन आग्रह गरिएको छ। त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रत्नपार्कको चार्जिङ स्टेसनमा निजी व्यक्तिले पनि गाडी चार्ज गर्नसक्ने बताए।
घिसिङले विद्युत् खपत प्रवर्द्धन गर्न विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख सहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसन स्थापना गर्ने बताए।
नेपाल विद्युत् प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ। २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना ठूला कारहरु चार्ज गर्न मिल्ने रहेका छन्।
चिनियाँ ब्रान्ड स्टार चार्ज नेपालमा सबै ठाउँमा स्थापना हुने भएका छन्। टेन्डर अनुसार काम गरिरहेको नेपालमा दीगो ग्रुपका कायकारी अध्यक्ष राजन रायमाझीले २ महिनाभित्रै ५१ वटा चार्जिङ स्टेसन निर्माण हुने जानकारी दिए। हालसम्म सबै चार्जिङ स्टेसन बनिसक्नुपर्ने भए पनि कोभिडको कारण चीनमा उद्योग बन्दहुँदा स्थापनामा ढिलाइ भएको बताए।
‘चार्जर, तारतान्ने, टन्सफर्मरसहित १ वटा स्टेसन निर्माणमा प्राधिकरणको अनुमान १ करोड २० लाख रुपैयाँ रहेको थियो’, रायमाझीले भने, ‘हामीले एउटा स्टेसन ८० लाखमा निर्माण गरेका हौँ।’

