अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीको आवागमन सहज
बाँके, १८ कात्तिक – बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको दैनिक आवागमन सहज बनेको छ। छोटो दूरीका यात्रामा सवारीसाधन नपाइने समस्या समाधान भएसँगै नरैनापुरवासीले अहिले सहज गतिशीलता अनुभव गर्न थालेका छन्।
नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार विगतमा बिहान–साँझ मात्र यात्रुवाहक बस चल्ने र अन्य समयमा हिँडेरै आवतजावत गर्नुपर्ने बाध्यता थियो। अहिले अटोरिक्सा सञ्चालन भएपछि यो समस्या अन्त्य भएको उनले बताए। नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की बनेपछि सञ्चालनमा आएका अटोरिक्साले गाउँका बासिन्दालाई ठूलो राहत पुर्याएको यादवको भनाइ छ।
सदरमुकाम नेपालगञ्जबाट करिब ४४ किलोमिटर टाढा पर्ने नरैनापुरमा पहिले आवागमन निकै कठिन थियो। तर, अहिले अटोरिक्सा चढेर करिब एक घण्टामा नेपालगञ्ज पुग्न सकिने नरैनापुर–५ जमुनीगाउँकी टीका बूढाथोकीले बताइन्।
“अटोरिक्सा चढ्दा न त घामपानीले असर गर्छ, न त समय धेरै लाग्छ,” उनले भनिन्, “अहिले सदरमुकाम जान वा दैनिकी काम गर्न निकै सहज भएको छ।”
अटोरिक्सा सञ्चालनले नरैनापुर गाउँपालिकाका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयालगायतका बस्तीसम्म सहज पहुँच बनाएको छ। निजी सवारीसाधन नहुने सर्वसाधारणका लागि गाउँभित्रै वडाबाट वडामा आउन–जान र कामकाज गर्न अब अटोरिक्सा प्रमुख साधन बनेको छ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। साथै, महिला, विद्यार्थी, शिक्षक र कार्यालयका कर्मचारीले पनि नियमित रूपमा अटोरिक्सा प्रयोग गर्न थालेका छन्। एक घण्टा पैदल हिँड्नुपर्ने दूरी अहिले १५–२० मिनेटमै पार गर्न सकिने बूढाथोकीले बताइन्।
नरैनापुर–१ कटकुइँयाका अटोचालक जाकिर अलीका अनुसार अटोरिक्सा सञ्चालनले स्थानीयलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानीको स्रोत पनि बनेको छ। चार सिट क्षमताका अटोरिक्साले सुइँया बघौडादेखि नेपालगञ्जसम्म प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको उनले जानकारी दिए।

