जो डाक्टर होइनन्, तर बिरामी निको पार्छन्
कैलाली, १७ कात्तिक – कैलारी गाउँपालिका–५ पवेराका ६५ वर्षीय रामदास कठरियाको घर बिहानैदेखि बिरामीले भरिन्छ । कोही हात समाउँदै, कोही लट्ठी टेक्दै, त कोही एम्बुलेन्समा आइपुग्छन्—सबैका आँखामा एकै चाहना हुन्छ – “रामदास डाक्टर” को हातले निको पारोस् ।
स्थानीयहरू उनलाई स्नेहपूर्वक “रामदास डाक्टर” भन्छन्, तर उनी न त औपचारिक रूपमा डाक्टर हुन्, न वैद्य । जम्मा कक्षा दुईसम्म मात्रै पढेका उनले हातको सीप र अनुभवका भरमा चार दशकदेखि हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित रोगको उपचार गर्दै आएका छन् ।
हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेका बिरामीहरू उनको मुख्य रोगी हुन् । उनी बिरामीको शरीर छामेरै समस्या पत्ता लगाउँछन्—“यो हड्डी सरेको छ, यो नसा च्यापिएको छ,” भनी तुरुन्तै उपचार सुरु गर्छन् । कुनै औषधि वा उपकरण होइन, उनको हात, अनुभव र सीप नै उनको मुख्य औजार हो ।
यो सीप उनले संयोगले होइन, परिवारिक परम्पराबाट सिकेका हुन् । उनका हजुरबुवा गाउँका चर्चित वैद्य थिए । सानैदेखि हजुरबुवाको उपचार हेर्दै-हेर्दै उनलाई त्यसप्रति आकर्षण बढ्यो । हजुरबुवाले कहिलेकाहीँ उनलाई बिरामी छाम्न लगाउँथे । त्यही अभ्यासले उनलाई दक्ष बनायो । हजुरबुवाको निधनपछि उनले त्यो कला हराउन नदिन निरन्तर अभ्यास गर्दै गए ।
आज ४० वर्षभन्दा बढी भइसकेको छ – उनले आफ्नै सीपले सयौँ बिरामीलाई राहत दिँदै आएका । अहिले पनि दैनिक सयभन्दा बढी बिरामी उनका घर पुग्छन् । कतिपय त यस्ता हुन्छन्, जसको अस्पतालमा उपचारले समेत सुधार ल्याउन सकेको हुँदैन । भजनीका भागिलाल चौधरी भन्छन्, “मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । धेरै ठाउँमा लग्यौँ, निको भइनन् । अन्तमा रामदासकहाँ पुगेपछि पूरै निको भइन् ।”
उनको उपचारमा मुख्य रूपमा स्थानीय सामग्री प्रयोग हुन्छ । कहिलेकाहीँ मेडिकलबाट आवश्यक सामान मगाउँछन् । उनी भन्छन्, “धेरै बिरामी गरीब हुन्छन् । म पैसा होइन, सन्तुष्टि खोज्छु । बिरामीले भन्छन्—अब म ठिक छु—त्यही मेरो सबैभन्दा ठूलो खुशी हो ।”
अब उनी आफ्नो सीप भविष्यमा पनि बाँचेको हेर्न चाहन्छन् । केही स्थानीय युवालाई सिकाए पनि उनीहरूले निरन्तरता दिएनन् । रामदास कठरिया भन्छन्, “म चाहन्छु, कोही लगन र धैर्यका साथ यो सीप सिकोस् । म पछि पनि यो कलाबाट धेरैलाई फाइदा पुग्नुपर्छ ।”

