प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं, १९ जेठ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो १२ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो। बैठकका एजेन्डाबारे भने औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन। यसअघि आइतबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस र विवाद भइरहेको छ।
उहाँले संसद्मा बोल्दै ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो। उक्त भनाइप्रति विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षबाट आलोचना भइरहेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संघीय संसद्का दुवै सदनका बैठकसमेत प्रभावित बनेका छन्। यद्यपि, मन्त्रिपरिषद् बैठकमा यस विषयमा छलफल हुने वा नहुनेबारे कुनै आधिकारिक जानकारी दिइएको छैन।

