राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गर्ने
काठमाडौँ, १७ कात्तिक – राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गर्ने जनाएको छ। विभागका अनुसार आज साँझदेखि सार्वजनिक बिदा बाहेक हरेक दिन राहदानी उपलब्ध गराइनेछ।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्युतीय राहदानी (ई–पासपोर्ट) आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता भइसकेको छ । उक्त सम्झौताअनुसार नयाँ पूर्वाधार र प्रणाली निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ र सेवा आगामी फागुन ११ गतेदेखि नियमितरूपमा सुरु हुनेछ।”
तर, हालको आपूर्तिकर्ता र नयाँ आपूर्तिकर्ताबीचको सङ्क्रमणकालीन अवस्था (handover/takeover), राहदानी पुस्तिकाको सीमित उपलब्धता र सेवाग्राहीको उच्च मागका कारण केही समयका लागि राहदानी वितरणमा कठिनाइ भएको विभागले स्वीकार गरेको छ। यसबीचमा राहदानीको अभाव नहोस् भन्ने उद्देश्यले दैनिक एक हजार थान वितरण गर्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।
विभागले सर्वसाधारणलाई भनेको छ —
“अर्को सूचना नभएसम्म अत्यावश्यक कारण भएका व्यक्तिले मात्रै राहदानीका लागि आवेदन गर्नुस्। राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्नुहोस्, ठगी वा गलत सूचना दिने व्यक्तिबाट सावधान रहनुहोस्।”
यससँगै राहदानी सेवाको आपूर्ति नियमित बनाउन विभागले आवश्यक कूटनीतिक तथा प्राविधिक पहल तीव्र पारेको जनाएको छ।

