हेज्बुल्लाह र इजरायल युद्धविराममा सहमत, आक्रमण रोक्ने घोषणा

काठमाडौं, १९ जेठ – लेबनानमा सक्रिय सिया राजनीतिक तथा सशस्त्र समूह हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गर्दै इजरायलविरुद्धका आक्रमण रोक्न सहमति जनाएको छ। इजरायलले पनि लेबनानमाथिको आक्रमण स्थगित गर्ने सहमति गरेको बताइएको छ।अमेरिकास्थित लेबनानी दूतावासका अनुसार अमेरिकाको मध्यस्थतामा भएको प्रस्तावलाई हेज्बुल्लाहले स्वीकार गरेको छ। उक्त प्रस्तावअनुसार दुवै पक्षले एकअर्काविरुद्धको सैन्य कारबाही रोक्ने सहमति गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्धविरामसम्बन्धी सहमति भएको पुष्टि गर्नुभएको छ। यद्यपि, उहाँले हेज्बुल्लाहले इजरायली सहर र नागरिकलाई लक्षित गरी आक्रमण जारी राखेमा लेबनानमा पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिनुभएको छ। सोमबार राति जारी वक्तव्यमा लेबनानी दूतावासले युद्धविराम सम्झौताअन्तर्गत इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हुने आक्रमण रोक्ने र त्यसको बदलामा हेज्बुल्लाहले इजरायलमाथि हमला नगर्ने जनाएको छ।

युद्धविराम लेबनानभर लागू हुने पनि दूतावासले उल्लेख गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहु र हेज्बुल्लाहका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिएका थिए। ट्रम्पका अनुसार दुवै पक्षले गोलाबारी अन्त्य गर्ने विषयमा सहमति जनाएका छन्। लामो समयदेखि जारी तनाव र हिंसात्मक गतिविधिबीच भएको यो सहमतिलाई क्षेत्रीय स्थायित्वका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ।

Facebook Comments Box