झाडापखालाले सप्तरीमा एकै परिवारका तीन जनाको मृत्यु
सप्तरी, १६ कात्तिक — सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। ती तीनै जनाको मृत्यु हप्तादिनको फरकमा भएको हो।
स्थानीय शिवशंकर सदाका अनुसार मृतकहरूलाई उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखा परेका थिए। समयमै उपचार नपाउँदा उनीहरूको ज्यान गएको जनाइएको छ। हाल सो टोलमा झाडापखालाका थप बिरामी देखिन थालेका छन्।
स्थानीयका अनुसार हालसम्म १५ जनाभन्दा बढी व्यक्तिमा झाडापखालाको लक्षण देखिएको छ। बिरामीमध्ये बुचनकी पाँच वर्षीया राधिका, शिवशंकर सदाकी १० वर्षीया छोरी करिना, कृष्णा सदाकी २५ वर्षीया पत्नी लिलमदेवी, छोरीहरू तीन वर्षीया गायत्री र ६ वर्षीया सुगन्धा, ६० वर्षीय बौकु सदा लगायतका छन्। स्थानीयहरूले घटनाबारे स्वास्थ्य निकाय र स्थानीय सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन्।
“हामी स्वास्थ्यकर्मी आउँछन् कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,” स्थानीय शिवशंकर सदाले बताए। छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरूलाई औषधि र उपचारका लागि खटाइएको छ। “रोग फैलिन नदिनका लागि स्थानीय सरकार सक्रिय छ,” उहाँले भने।
स्वच्छ खानेपानीको अभाव र बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ। जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन्।

