मेडरी नाच सीप युवा पुस्तामा हस्तान्तरण गर्दै पाका पुस्ता

नवलपरासी, १६ कात्तिक – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहा निवासी ७० वर्षीय दुलामणि गुरौ पछिल्ला वर्षहरूमा थारू समुदायको परम्परागत मेडरी नाच युवा पुस्तालाई सिकाउँदै आउनु भएको छ। लोपोन्मुख अवस्थामा पुगेको यो पौराणिक नाचको संरक्षणका लागि दुलामणिसहित पाका पुस्ता जुटिरहेका छन्।

थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो घट्दै गएपछि पाका पुस्ताले कला र सीप हस्तान्तरण अभियान सञ्चालन गरेका हुन्। गुरौ अहिले नाच समूहको नेतृत्व गर्दै नयाँ पुस्तालाई सिकाउने काममा लाग्नुभएको छ। “मेडरी नाच्न धेरै जना चाहिन्छ। अहिले हामीमध्ये धेरैजना ७० वर्ष पार गरेका छौँ,” गुरौले भन्नुभयो, “अब युवा पुस्तालाई यसको महत्त्व बुझाउँदै नाच सिक्न प्रेरित गर्दैछौँ।”

हरेक वर्ष हरिबोधिनी एकादशीका दिन लेडाहादेखि कावासोती नगरपालिका–१५ गुन्द्रहीसम्म धार्मिक विधिअनुसार मेडरी नाच नचाइन्छ। महाभारतमा आधारित यो नाच थारू समुदायको ऐतिहासिक सांस्कृतिक सम्पदामध्ये एक हो।गुरौका अनुसार, “मेडरी नाचमा कम्तीमा एक सय र बढीमा डेढ सय नचनिया गोलाकार रूपमा नाच्ने गर्छन्।

यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित युद्ध प्रसङ्ग, र राम लीलामा आधारित सीता हरण गरी तीन प्रकारमा गरिन्छ।” थारू समुदायका अन्य नाच (लाठी नाच, झाम्टा आदि) प्रति युवा पुस्ताको आकर्षण बढ्दै गए पनि मेडरी नाचप्रति भने उनीहरूको चासो कम भएको स्थानीय गेनाराम महतो बताउँछन्।

“दैवी शक्तिमा आधारित यो नाच दसैँ, तिहारलगायतका पर्वमा नचाइन्छ,” उहाँले भन्नुभयो, “पितृ औँसीमा पितृ विसर्जनपछि सुरु भई हरिबोधिनी एकादशीसम्म निरन्तर नचाइन्छ।” नाचका क्रममा मादल, झ्याली, तरवार लगायतका परम्परागत बाजा र उपकरण प्रयोग गरिन्छ। अर्जुनको रथको ध्वजाको प्रतीकस्वरूप ठूलो बाँसको लिङ्गो बीचमा राखिन्छ।

मेडरी नाचका लागि आवश्यक सामग्री तयार गर्न समस्या हुँदा यसको संरक्षण चुनौतीपूर्ण बनेको हुमबहादुर थनेत बताउँछन्। “नयाँ पुस्तामा हस्तान्तरण गर्न कठिन भइरहेको छ,” उहाँले भन्नुभयो। “थारू समुदायमा लाठी नाच र झाम्टा नाच प्रचलित भए पनि मेडरी नाच अझै पनि पाका पुस्ताकै भरमा चलिरहेको छ।”

थारू संस्कृतिको पहिचान कायम राख्न मेडरी नाचको विशेष महत्त्व रहेको चुनिलाल थनेत बताउँछन्। “पहिले गाउँभरि सबै मिलेर यो नाच नचाइन्थ्यो,” उहाँले सम्झनुभयो, “अहिले पुराना पुस्ताको संख्याले मात्र नाच चलाउन गाह्रो भइरहेको छ, यद्यपि केही युवाले चासो देखाउन थालेका छन्।” दुलामणि गुरौका अनुसार, अहिले कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्र प्रदर्शनमा छन्, जबकि सीता हरण नाच लोप हुने अवस्थामा पुगेको छ।

Facebook Comments Box