नेकपा एकीकृत समाजवादी विघटनको सँघारमा
काठमाडौँ, १६ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णयसँगै नेकपा (एकीकृत समाजवादी) अहिले विघटनको सँघारमा पुगेको छ। एकता प्रस्तावलाई लिएर पार्टीभित्र तीव्र असहमति देखिएको छ, जसका कारण नेताहरूबीच विभाजनको अवस्था सिर्जना भएको हो।
नेकपा (एमाले) बाट सन् २०७८ भदौ २ गते विद्रोह गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) ले चार वर्षपछि शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेको थियो। तर, सो निर्णयप्रति वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले असहमति जनाउँदै शनिबार छुट्टै भेला आयोजना गरेपछि पार्टीभित्र गहिरो मतभेद खुलेर आएको हो।
शनिबार सुकेधारामा आयोजित भेलामा असन्तुष्ट पक्षले माओवादी केन्द्रसँग एकता नगर्ने र नेकपा (एकीकृत समाजवादी) कै पुनर्संरचना गर्ने विषयमा छलफल गरेको थियो। यसले पार्टी विभाजनको सङ्केत दिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले भने माओवादी केन्द्रसँगको एकता प्रक्रिया कम्युनिस्ट शक्तिलाई बलियो बनाउने दिशामा रहेको बताउँदै एमालेमा नफर्किने अडान पुनः दोहोर्याएका छन्।
नेपाल पक्षका अनुसार केन्द्रीय कमिटीको बहुमतले एकताको निर्णय गरेकाले पार्टी त्यसै अनुसार अघि बढ्नेछ। तर, महासचिव भुसालले भने एक दलसँगको मात्र एकता नभई वैकल्पिक वामपन्थी मोर्चाको निर्माण नै अहिलेको आवश्यकता भएको बताएका छन्। उनले “माओवादीसँगको एकता होइन, वैकल्पिक वामपन्थी शक्ति निर्माणका लागि छलफल सुरु गरिएको” दाबी गरेका छन्।
यता, उपाध्यक्ष जगन्नाथ खतिवडाले भने अध्यक्ष नेपालको नेतृत्वमा माओवादी केन्द्रसँगको एकता प्रक्रियाले बलियो कम्युनिस्ट शक्ति निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। पार्टीभित्रको मतभेदले नेकपा (एकीकृत समाजवादी) दुई धारमा विभाजित बन्दै गएको स्पष्ट देखिएको छ । केही नेता एमालेमा फर्किँदै गर्दा बाँकी नेताहरूले वैकल्पिक वाम मोर्चाको सम्भावना खोज्न थालेका छन् ।

