फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ, १४ कात्तिक – काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध उत्पन्न भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै फोहरमैला अस्थायी रूपमा घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, “बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकाले हालका लागि फोहर संकलन र बिसर्जन कार्य गर्न सम्भव छैन, कृपया फोहर घरमै सुरक्षित रूपमा राख्न सहयोग पुर्‍याउनुहोस्।”

फोहर व्यवस्थापन विभागका अनुसार अवरोध हटेपछि फोहर संकलन र ढुवानी पुनः नियमित रूपमा सञ्चालन गरिनेछ । महानगरले नगरवासीलाई स्वच्छता र सरसफाइमा सहयोग गर्न आग्रह गर्दै सामुदायिक स्तरमा फोहर व्यवस्थापनका वैकल्पिक उपाय अवलम्बन गर्न पनि अनुरोध गरेको छ ।

Facebook Comments Box