लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध

काभ्रे, २५ साउन – लेदोसहितको पहिरो सडकमा थुप्रिएपछि बीपी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ४ बजे रोशी गाउँपालिका–९ पिन्थली र नार्के क्षेत्रमा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण राजमार्गमा यातायात पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बीपी राजमार्गमा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । यसैबीच, वर्षायाम सुरु भएदेखि नै सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ ।

Facebook Comments Box