जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि कुटपिट गर्ने दुई पक्राउ

काठमाडौँ, ११ कात्तिक – गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र प्रहरीमाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का २२ वर्षीय अलिष श्रेष्ठ (हाल सुकेधारा, काठमाडौँ) र रसुवाको उत्तरगया गाउँपालिका–४ का २७ वर्षीय सौरभ तामाङ (हाल मनोमैजु, काठमाडौँ) रहेका छन्।

उनीहरूले प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापामाथि कुटपिट गरेको र सोही कार्यालयमा आगजनी तथा ढुङ्गामुढा तोडफोडमा संलग्न रहेको प्रमाण भेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल दुवैजनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको छ। उक्त घटनामा आन्दोलनकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको मृत्यु भएको थियो।

Facebook Comments Box