पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा, ९ कात्तिक  – दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमका कारण पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ। लामो समयदेखि सुस्त रहेको पर्यटन गतिविधिमा अहिले पुनः उत्साह देखिएको छ, जसले स्थानीय होटल, रेस्टुरेन्ट र साहसिक पर्यटन क्षेत्रलाई पुनर्जीवित गरेको छ। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले लेकसाइड क्षेत्रका करिब ९० प्रतिशत होटल भरिएका छन्।

करिब रु आठ खर्ब लगानी रहेको पोखराको पर्यटन क्षेत्रले प्रत्यक्ष रूपमा १५ हजारभन्दा बढी रोजगारी दिएको छ। अन्नपूर्ण, मर्दी हिमाल र घोरेपानी–पुनहिलजस्ता विश्वप्रसिद्ध पदमार्गमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो छ। टान पोखराका अध्यक्ष कृष्ण आचार्यका अनुसार दैनिक हजारभन्दा बढी विदेशी र चार हजारभन्दा बढी नेपाली ट्रेकर विभिन्न पदमार्गमा निस्किरहेका छन्।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार रेस्टुरेन्ट र बारहरूमा पनि चहलपहल बढेको छ, जसले व्यवसायीहरूलाई नयाँ ऊर्जा दिएको छ। तर, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले मौसमअनुसारको पर्यटनले मात्रै लगानी थेग्न नसक्ने भन्दै दिगो पर्यटन रणनीति आवश्यक रहेको बताउनुभएको छ।

पोखरामा फेवाताल, विश्व शान्ति स्तूपा, सराङकोट, डेभिस फल्स, गुप्तेश्वर गुफा र अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पर्यटक लोभ्याइरहेका छन्। नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box