छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी, ९ कात्तिक  ( लोकआस्था र श्रद्धाको महापर्व छठको दोस्रो दिन आज बर्तालुहरूले ‘खरना’ विधि मनाउँदैछन्। कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ गरेर पर्व सुरु गरेका बर्तालुहरू आज पञ्चमी तिथिमा खरनाका तयारीमा व्यस्त छन्।

सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभर निराहार बस्ने बर्तालुहरू साँझपख चन्द्र दर्शनपछि माटोको नयाँ चुल्हो र भाँडामा दूध, सक्खर र चामलको खिर पकाई कूलदेवता र छठी देवीलाई अर्पण गर्छन्। अर्पण गरिएको खिरलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन मिथिलामा ‘खरना’ भनेर चिनिन्छ। यो विधि आत्मशुद्धि, स्वधर्मपालन र पापमोचनको प्रतीक मानिन्छ, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णले बताउनुभयो।

छठको पहिलो दिन अर्थात् ‘नहाय–खाय’ वा ‘अर्बा–अर्बाइन’ विधिमा बर्तालुले उसिना चामल, लसुन, प्याज, कोदो र मुसुरो जस्ता अशुद्ध मानिने परिकार नखाई आत्मशुद्धि गर्ने परम्परा पालना गर्छन्। पर्वको मुख्य निराहार व्रत भने कात्तिक शुक्ल षष्ठीका दिन पर्छ, जसमा बर्तालुहरू मनमोहक रूपमा सजाइएका जलाशय घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य अर्पण गर्छन्। यस विधिलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ।

भोलिपल्ट सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिई व्रतको समापन गरिन्छ, जसलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ। खरनाको प्रसाद ग्रहण गरेपछि नै बर्तालुहरूले निराहार व्रत आरम्भ गर्छन्। छठमा ठकुवा, भुसुवा लगायतका प्रसाद घरमै ढिकी–जाँतोमा पिसिएको पीठोबाट तयार गरिन्छ। ती परिकार इष्ट–मित्र र आफन्तमा बाँड्ने, घरमा बोलाई ख्वाउने र घाटहरूमा सरसफाइ तथा सजावटमा विशेष ध्यान दिने चलन छ।

पहिले मधेसी समुदायमा सीमित रहेको सूर्य उपासना पर्व अहिले देशभरका हिन्दू र अन्य धर्मावलम्बीबीच साझा उत्सवका रूपमा फैलिँदै गएको छ। सबै धर्म, संस्कृति र वर्गको सहभागिताले यो पर्व मिथिला र मधेसको सांस्कृतिक पहिचानको अभिन्न अङ्ग बनेको रामनन्दन महेन्द्र विश्वेश्वर क्याम्पस, जलेश्वरका प्राचार्य अजयकुमार झाले बताउनुभयो।

Facebook Comments Box