डेढ महिनामा सात हजार पर्यटक मनाङ पुगे
मनाङ, २ कात्तिक – मनसुन सकिएपछि खुल्न थालेको मौसमसँगै हिमाली जिल्ला मनाङमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का अनुसार यस वर्षको पर्यटन याम सुरु भएदेखि डेढ महिनामा ७ हजार ४६१ विदेशी पर्यटक मनाङ पुगेका छन्।
एक्याप एकाइ कार्यालयका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार उक्त अवधिमा इजरायलका १,१२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अष्ट्रेलियाका ४४१ पर्यटकले अन्नपूर्ण पदमार्ग, थोराङला र तिलिचो ताल क्षेत्र भ्रमण गरेका छन्। “विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थलको भ्रमण गरेका छन्,” गुरुङले बताए, “यसले स्थानीय उत्साह बढाएको छ र देशको अर्थतन्त्रमा पनि सकारात्मक संकेत देखिएको छ।”
गत भदौको जेनजी आन्दोलन र मनसुनको बाढीपहिराका कारण केही समय पर्यटक आगमन प्रभावित भए पनि अहिले चहलपहल फिर्ता भएको पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए। उनका अनुसार आन्दोलन र अस्थिरताले विदेशी पर्यटकका बुकिङहरू रद्द भएका थिए, तर अहिले शान्ति फर्कँदै गएपछि होटलहरू पुनः भरिन थालेका छन्।
होटल व्यवसायी नवीनविक्रम सिंहका अनुसार अहिले पर्यटकको आगमन अघिल्ला वर्षभन्दा केही कम भए पनि सुधारको संकेत देखिएको छ। “हिल्टन होटल जलाएको घटनाले विदेशीमा त्रास फैलिएको हुनसक्छ,” उनले भने, “तर अहिले विस्तारै विश्वास फर्कँदैछ।”
अन्नपूर्ण पदमार्गका सडक र पदयात्रा मार्गमा विदेशी पर्यटकका साथै घरेलु पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ। नेपालीहरू ग्रामीण र जोखिमयुक्त गन्तव्यतर्फ आकर्षित हुन थालेका छन्, जसले स्वदेशी पर्यटन प्रवर्द्धनमा मद्दत गरिरहेको स्थानीयहरूको भनाइ छ। पर्यटकहरू प्रायः मनाङको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य र मानवीय जीवनशैलीको अनुभव गर्न आउने गर्छन्।
हिमाल, पहाड र स्थानीय समुदायको जीवनपद्धति उनीहरूका लागि मुख्य आकर्षण बनेको छ। अन्नपूर्ण पदमार्ग लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै पोखरा पुग्छ। पछिल्ला वर्षमा सडक यातायात सहज बन्दै गएपछि धेरैजसो पर्यटक अब चामे र खाङ्सारसम्म सवारीसाधनमै पुग्ने र त्यसपछि पैदल यात्रा गर्ने गरेका छन्।
स्थानीय व्यवसायीहरूको भनाइमा, मनाङको पर्यटनले देशकै अर्थतन्त्रमा योगदान पुर्याउने क्षमता राख्छ, त्यसका लागि तीनै तहका सरकारको ध्यान पदमार्ग र पूर्वाधार सुधारमा केन्द्रित हुनुपर्ने आवश्यकता छ।

