दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने : लामा

हेटौँडा, १४ साउन – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने घोषणा गर्नुभएको छ।

संसदीय दलको नेतामा ८ मतान्तरले पराजित भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको रूपमा स्वीकार गर्नुभएको हो।

“यो लोकतान्त्रिक प्रणाली हो, पहिला मैले जितेँ, अहिले उहाँ (बानियाँ) ले जित्नुभयो,” मुख्यमन्त्री लामाले भन्नुभयो, “तर म पाँच वर्षका लागि निर्वाचित भएको हुँ। विधान मिचेर बीचमै यस्तो खेल खेलियो।”

उहाँले कांग्रेसको विधानमा दलको नेता नभए पनि गठबन्धन सरकारको नेतृत्व गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै, “किन राजीनामा दिने? म राजीनामा दिन्नँ” भन्ने स्पष्ट धारणा व्यक्त गर्नुभयो।

२०७९ पुस १३ गते भएको अघिल्लो दलको निर्वाचनमा लामाले बानियाँलाई ५ मतान्तरले पराजित गर्दै कांग्रेस संसदीय दलको नेतृत्व सम्हाल्नुभएको थियो। तर साढे दुई वर्षपछि बानियाँले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर लामाको नेतृत्वविरुद्ध कदम चाल्नुभएको थियो।

अविश्वास प्रस्तावमा २२ जना सांसदले समर्थन जनाएपछि लामा दलको नेताबाट पदमुक्त हुनुभएको हो। त्यसको केही समयमै सम्पन्न नयाँ निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ।

यस परिदृश्यले बागमती प्रदेशको सत्ता समीकरणमा परिवर्तनको संकेत दिएको छ। तर मुख्यमन्त्री लामाले पद नछोड्ने अडान लिएका कारण प्रदेशको राजनीतिक गतिशीलता थप जटिल बन्ने देखिएको छ।

Facebook Comments Box