तरकारीखेतीबाट नौ लाख आम्दानी गर्न सफल रिममाया बुढाथोकी
बागलुङ, २ कात्तिक – ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी अहिले बागलुङ बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित छिन्। करिब सात वर्षअघि छोराछोरीको पढाइका लागि बजार झरेकी बुढाथोकी अहिले व्यावसायिक तरकारी र च्याउखेतीमार्फत वार्षिक रु नौ लाख आम्दानी गर्न सफल भएकी छन्।
सुरुवाती दिनमा बेरोजगारीका कारण समय बिताउन कठिनाइ भए पनि वरपरका किसानले व्यावसायिक खेती गरेको देखेपछि उहाँले पनि जग्गा लिजमा लिएर तरकारीखेती सुरु गर्नुभयो। अहिले उहाँको बारीमा बाह्रै महिना टमाटर, सिमी, बोडी, लौका, घिरौंला, खुर्सानी, साग, भेन्टा, धनियाँ र मसला बाली अदुवा तथा बेसार फल्ने गर्छ।
विसं २०७५ मा बागलुङ झरेकी बुढाथोकीले १५ रोपनी जमिन वार्षिक रु ८३ हजार भाडा तिरेर लिजमा लिएर चारवटा च्याउ र तीनवटा टमाटर टनेल निर्माण गरेकी छन्। अहिले सम्म उहाँले करिब रु २५ लाख लगानी गरिसकेकी छन्।बुढाथोकीका अनुसार, “सुरुमा समय काट्नका लागि खेती सुरु गरेकी थिएँ, अहिले खेती नै मेरो मुख्य उद्यम बनेको छ। बजार नजिकै भएकाले बिक्रीमा समस्या छैन, धेरै उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ।”
हाल बुढाथोकीको गरिमा कृषि फार्म दर्ता भइसकेको छ, जहाँ मासिक तलबमा एक जनालाई रोजगारी दिइएको छ। खेतीमा श्रीमान् कपिल र छोराछोरीले पनि समय–समयमा सहयोग गर्छन्। बुढाथोकीले यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत च्याउखेतीका लागि रु ४ लाख अनुदान प्राप्त गरेकी छन्। त्यस्तै कृषि ज्ञान केन्द्रबाट टनेल र मसला बाली प्रवर्द्धनका लागि प्रविधि सहयोग पनि पाएकी छन्।
तरकारी र च्याउ दुवैको बजार स्थिर भए पनि सिँचाइका लागि पानीको अभाव मुख्य समस्या रहेको उहाँको भनाइ छ। कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालका अनुसार, उत्कृष्ट प्रदर्शन गर्ने किसानहरूलाई अनुदान र प्राविधिक सहयोग दिइँदै आएको छ। “रिममायाजस्ता किसानहरू अन्यलाई प्रेरणा हुन्,” उहाँले भने, “बागलुङमा पछिल्लो समय धेरै किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन्, बजार नपाउने समस्या भने छैन।”

