नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा

काठमाडौं, २३ असोज – नेपालले लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ का लागि स्थान बनाएको छ। बुधबार भएको सुपर सिक्स चरणको खेलमा यूएईले सामोयालाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्।

आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा नेपालले तेस्रो पटक सहभागिता जनाउनेछ। नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो भने सन् २०२४ मा दोस्रो पटक सहभागी भएको थियो। नेपालको वर्तमान टोलीमा पहिलो संस्करण (२०१४) का खेलाडीमध्ये केवल सोमपाल कामी मात्र रहेका छन्।

सन् २०२३ मा काठमाडौंमा भएको छनोट प्रतियोगितामा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपको यात्रा तय गरेको थियो। त्यसभन्दा एक वर्षअघि सन् २०२२ मा भने नेपाल यूएईसँग पराजित भई विश्वकपमा पुग्न असफल भएको थियो।

यस पटकको सुपर सिक्समा नेपालले यूएईलाई १ रनले र कतारलाई ५ रनले हराएको छ। अन्तिम खेलमा नेपालले शुक्रबार सामोयासँग प्रतिस्पर्धा गर्नेछ।

बुधबारको पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले हराएपछि जापानको विश्वकप यात्रा कठिन बनेको छ। यता यूएईले सामोयामाथि ठूलो जित निकाल्दै आफ्नो सम्भावना बलियो बनाए पनि उसलाई अन्तिम खेलको नतिजा र अन्य टोलीको प्रदर्शनमा निर्भर रहनुपर्नेछ। नेपाल र ओमान यूएईको जितपछि दुवै टोली विश्वकपमा पुगिसकेका छन्।

Facebook Comments Box