ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल उपाधिनजिक

काठमाडौँ, ३० असोज – आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया–पेसिफिक छनोट अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउँदै ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रनमा सीमित रह्यो।

ओमानका विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रनको योगदान दिए। नेपालका बलरहरूमा गुल्शन झाले तीन विकेट, नन्दन यादव र सोमपाल कामीले समान दुई–दुई विकेट, र सन्दीप लामिछानेले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो। नेपालका कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित ६९ रन, आसिफ शेखले २४ रन, गुल्शन झाले दुई छक्कासहित १८ रन र आदिल आलमले १६ रनको योगदान गरे।

ओमानका बलर नदीम खानले चार विकेट, जबकि शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई–दुई विकेट लिए। यस जितसँगै नेपाल आठ अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिँदै उपाधिनजिक पुगेको छ। दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ। अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ।

Facebook Comments Box