सुन तस्करी प्रकरणः पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा
काठमाडौँ, २९ असोजः जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा संलग्नता देखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रारम्भिक प्रमाणका आधारमा महरा सुन तस्करी प्रकरणमा संलग्न देखिएको ठहर गर्दै उनलाई थुनामा राख्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले महरालाई पुर्पक्षका लागि सुन्धारास्थित जगन्नाथ देवल कारागारमा पठाउन आदेश गरेको छ।
असोज २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुद्दा दर्ता गरेको थियो। कार्यालयका प्रमुख रामहरि काफ्लाका अनुसार महराविरुद्ध रू. ८ करोड ५५ लाख २८ हजार ३७४ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ। मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले महरालाई असोज २६ गते पक्राउ गरेको थियो। उहाँमाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।

