अर्थमन्त्री रामेश्वरप्रसाद खनाल वाशिङ्गटनमा भेटघाट र छलफलमा व्यस्त
अमेरिका, २९ असोज – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल वाशिङ्गटनमा भेटघाट र छलफलमा व्यस्त विश्व बैंक र अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अमेरिकाको वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलबार विभिन्न उच्चस्तरीय भेटघाट र छलफलहरूमा सहभागिता जनाउनुभएको छ।
मङ्गलबार अर्थमन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो। सो अवसरमा द्विपक्षीय व्यापार, कर नीतिहरू र लगानी वातावरणका विषयमा विस्तृत छलफल भएको नेपालका लागि अमेरिकास्थित राजदूतावासले जनाएको छ। राजदूतावासका अनुसार, भेट उपयोगी र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो।
उही दिन मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग पनि भेटघाट गरी सहकार्य विस्तारका विषयमा छलफल गर्नुभएको थियो। यसअघि उहाँले नेपालमा विकास सहकार्य गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय वित्तीय निकायका प्रतिनिधिहरूसँग पनि विचार–विमर्श गर्नुभएको थियो।
भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू, मन्त्री खनालको भ्रमण टोलीका सदस्यहरू र अन्य कर्मचारीहरू समेत उपस्थित थिए।

