गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई युवक पक्राउ
काठमाडौँ, २९ असोज – काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जना युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–३, गोकर्ण बस्नेत गाउँस्थित एक घरमा गरेको अपरेसनबाट ती दुवै जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५, सूर्यकोट घर भई हाल भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई हाल गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल रहेका छन्। प्रहरीले उनीहरूको साथबाट पेस्तोल, गोली र हतकडी बरामद गरेको जनाएको छ।
प्रहरी उपरीक्षक (एसपी) तथा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

