सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह
काठमाडौँ, २७ असोज – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको अवसरमा बजारमा बिक्री हुने सबै वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्न सम्बन्धित सबैलाई पुनः आग्रह गरेको छ।
विभागका अनुसार हालका नियमित बजार अनुगमनका क्रममा तिहारमा प्रयोग हुने भाई मसला, तामा–चाँदीका भाँडाकुँडा, झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्री लगायतका वस्तुमा एमआरपीसहितको लेबल र मूल्य सूची नराखिएको भेटिएको छ।
मूल्य स्थिरता र आपूर्ति सन्तुलन कायम राख्न विभागले आवश्यक कदम चालिरहेको जनाएको छ। यसका लागि व्यापारिक सङ्घ–सङ्गठन, व्यवसायी, उपभोक्तावादी संस्था र उपभोक्ता स्वयं सबैको समान योगदान आवश्यक हुने विभागको भनाइ छ।
त्यसैले विभागले उपभोक्तालाई एमआरपीसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु मात्र खरिद गर्न आग्रह गरेको छ। साथै, कुनै पनि गुनासो वा समस्या परेमा विभागको टोल–फ्री नम्बर ११३७ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

