नेपाल १ रनले पराजित, टप एन्ड टी–२० सिरिजको यात्रा समाप्त

डार्विन (अस्ट्रेलिया), ५ भदौ

नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ। यस हारसँगै नेपालको यात्रा लिग चरणमै रोकिएको छ।

पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो। कप्तान रोहित पौडेलले ५२ रन र दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाए पनि नेपाललाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा ८ रन आवश्यक परेपनि नेपालले ६ रन मात्र बनाउन सफल भयो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन जोडेको थियो। पाकिस्तानका कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रनको कप्तानी पारी खेले।

नेपालका बलरमध्ये सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिएका थिए। नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट झारे भने कुशल भुर्तेलले १ विकेट लिए।

सिरिजमा संघर्षपूर्ण प्रदर्शन गरेपनि नेपाल आवश्यक जित निकाल्न नसकेपछि नकआउट चरणमा प्रवेश गर्न असफल भएको हो।

Facebook Comments Box