बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
मुम्बई, २५ कात्तिक – बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। उनलाई सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको खबर प्रकाशित गरेका छन्।
स्वास्थ्य बिग्रँदै गएपछि धर्मेन्द्रलाई भेन्टिलेटरमा राखिएको थियो। देओल परिवारका निकट स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई निधनपछि विदेशबाट मुम्बई बोलाइएको छ। सोमबार राती उनका छोराहरू सनी देओल र बबी देओल अस्पतालमा भावुक देखिएका थिए।
सोमबार राति बलिउडका चर्चित अभिनेता शाहरुख खान, सलमान खान लगायतका धेरै सेलिब्रेटीहरू ब्रीच क्यान्डी अस्पताल पुगेका थिए। धर्मेन्द्रको निधनको खबरले बलिउड तथा सम्पूर्ण भारतीय फिल्म उद्योगमा ठूलो शोकको लहर ल्याएको छ।
यसअघि नोभेम्बर १० भन्दा पहिले पनि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। त्यतिबेला आईसीयूमा राखिएपछि स्वास्थ्यमा सुधार आएपछि केही घण्टामै डिस्चार्ज गरिएको थियो। यस वर्षको सुरुमा धर्मेन्द्रले देब्रे आँखाको क्षतिग्रस्त कोर्नियाको प्रत्यारोपण शल्यक्रिया (केराटोप्लास्टी) पनि गराएका थिए। धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा नस्रालीमा भएको थियो। उनी यस वर्ष डिसेम्बर ८ मा ९० वर्ष पुग्ने अवस्थामा थिए।

