टी–२० विश्वकप एसिया छनोटमा नेपालसँग जापान ५ विकेटले पराजित

काठमाडौँ, २४ असोज – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने गुलशन झाले २८ र दीपेन्द्रसिंह ऐरीले १४ रनमा अविजित रहे। कुशल भुर्तेलले २१ तथा कप्तान रोहित पौडेलले १८ रनको योगदान दिए।

९० रनमा पाँच विकेट गुमाएर नेपाल केहीबेर दबाबमा परेपनि, गुलशन र दीपेन्द्रले संयमित ब्याटिङ गर्दै जित सुनिश्चित गरे। जापानका तर्फबाट शोमा स्लेटरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए। साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए भने इसार रहमानले ३१ रनको योगदान दिए। दुबैबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो।

नेपालका बलरहरू मध्ये गुलशन झाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए।

यो जितसँगै नेपालले सुपर सिक्स चरणमा २ अंकका साथ सुरुवात गर्ने भएको छ। जापान र नेपाल दुवै टोली यसअघि नै सुपर सिक्समा स्थान बनाइसकेका हुन्।

Facebook Comments Box