भैरे डाँडामा पहिरो पीडितका लागि आवास निर्माण अन्तिम चरणमा, चाँडै हस्तान्तरण गरिने
सङ्खुवासभा, २५ असोज – सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ भैरे डाँडामा पहिरो पीडितका लागि निर्माण भइरहेका आवास अन्तिम चरणमा पुगेका छन्। विसं २०७७ असार २८ गते सिलिचोङ गाउँपालिका–१ मा आएको भीषण पहिरोबाट विस्थापित ५५ परिवारका लागि आवास निर्माण भइरहेको हो।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले शुक्रबार स्थलगत अनुगमन गर्दै निर्माण कार्य छिट्टै सम्पन्न गरी पीडित परिवारलाई घर हस्तान्तरण गरिने जानकारी दिनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेका अनुसार हालसम्म ९० प्रतिशत काम पूरा भइसकेको छ।
अनुगमन टोलीमा प्रदेशसभा सदस्य राजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी थपलिया र खाँदबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाई सहभागी हुनुहुन्थ्यो। संघीय सरकारले आवास निर्माणका लागि कुल लागतको ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत सहयोग गर्ने निर्णय गरेको हो।
प्रत्येक घरका लागि पाँच लाख ५० हजार रूपैयाँ अनुदान स्वीकृत गरिएको छ, जसको भुक्तानी तीन किस्तामा दिइँदै आएको छ। ५५ परिवारका लागि भैरे डाँडामा ६९ रोपनी जग्गा एक करोड ३० लाख रूपैयाँमा खरिद गरिएको थियो। सोही पहिरोमा नौ घर बग्दा ११ जना बेपत्ता भएका थिए।

