आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था गरिने

मकवानपुर, ७ वैशाख – कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा आज बसेको बैठकले हेटौँडा उपमहानगरपालिकाको विभिन्न स्थान र हेटौँडा अस्पताललाई कोभिड–१९ रोग उपचार गर्ने क्रममा आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य मकवानपुरलाई समन्वय गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले स्थानीय निकायको समन्वय र सहकार्यबाट स्थानीय तहमै सञ्चालन भइरहेको विद्यालयलाई कोभिड–१९ को सङ्क्रमणबाट न्यूनीकरण गर्नेतर्फ आवश्यकता हेरी विद्यालय सञ्चालनमा रोक लगाउनुपर्ने निर्णयसमेत गरिएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले बताउनुभएको छ । बैठकले हेटौँडा नगरक्षेत्रमा रहेको मनोरञ्जन सिनेमा हल, होटल, रेष्टुरेण्ट, खेलकूद क्लब दैनिक सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार, धार्मिक मठमन्दिरलाई पनि भिडभाड नगरी सामान्य पूजाआजा गर्ने र जिल्लामा राजनीतिक दलकोतर्फबाट जुलुस, धर्ना, भेला र बैठक सञ्चालन नगर्न अपिल गर्ने निर्णय गरिएको छ । बैठकले आइसोलेशन कक्ष र क्वारेन्टिनका लागि जिल्लामा आवश्यक दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र कोभिड–१९ सङ्क्रमित बिरामीको पहिचान गरी सङ्क्रमित बिरामीलाई स्वास्थ्य उपचारका लागि चितवनको कोभिड अस्पतालमा पठाउन प्रदेश स्वास्थ्य निर्देशनालयलाई सम्बन्धितकर्ताका रुपमा परिचालन गर्ने निर्णय भएको सूचनाअधिकारी गर्तौलाले बताउनभयो ।

Facebook Comments Box