सालको पात बेचेर चाडपर्व खर्च जुटाउँदै महिला

धरान, १७ असोज – सुनसरीको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विक यस वर्षको दशैँ–तिहारका खर्च सालको पात बेचेरै जुटाइरहनुभएको छ।

उहाँले उदयपुरको गाईघाटबाट ल्याइने सालको पात इटहरीका विभिन्न हटिया बजारमा बिक्री गर्दै आउनुभएको छ। “अरु बेला पनि यो मेरो आम्दानीको मुख्य स्रोत हो, तर चाडपर्वमा पातको माग बढी हुने भएकाले भदौदेखि मङ्सिरसम्म यही काममा बढी ध्यान दिन्छु,” विकले बताउनुभयो।

उहाँका अनुसार एक हप्तामा रु ८ देखि १० हजारसम्मको पात बिक्री हुने गरेको छ। चाडपर्व, एकादशी, छठलगायत धार्मिक अवसरमा सालको पातको माग उच्च हुने गर्छ। तर, ठेलागाडामा तरकारी र कोला बेच्नेले समेत पात बिक्री गर्दा प्रतिस्पर्धा बढ्ने विकको गुनासो छ।

यसैगरी, इटहरी–७ की इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि गाईघाटबाट पात संकलन गरी बिक्री गर्दै आउनुभएको छ। उहाँका अनुसार दसैँ–तिहारताका दैनिक ३० देखि ४५ मुठा पात बिक्री हुने गरेको छ।

“सानो मुठा रु ४० देखि ६० र ठूलो मुठा रु १०० सम्ममा बिक्री हुन्छ। यसरी मासिक रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको छ,” घिमिरेले बताउनुभयो।

स्थानीय महिलाहरूले बिना ठूलो लगानी पात संकलन र बिक्रीमार्फत राम्रो आम्दानी गर्न थालेका छन्। पूजापाठ, भोजभतेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउन प्रयोग हुने भएकाले सालको पातको माग सहरी क्षेत्रमा समेत बढ्दो छ।

Facebook Comments Box