प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौँ, ८ साउन – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। गत शुक्रबार नागरिकता विधेयक पारित गरेयता प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हाे। बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। त्यसका लागि सम्भावित कार्यसूची तय गरिएको छ।
जसअनुसार आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्नेछिन्। यस्तै गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६’ प्रस्ताव गर्ने छन्। बैठकमा ‘कारागार विधेयक, २०७८’ पनि प्रस्ताव गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।
यसैगरी आजको सम्भावित कार्यसूचीमा शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गर्न प्रस्ताव पेस गर्ने पनि छ।

