‘जडीबुटीको मूल्य पाइएन’
भोजपुर, १७ असोज – भोजपुरका कृषकले उत्पादन गरेको जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएकाले किसान निराश बनेका छन्।
स्थानीयस्तरमा बजार मूल्यबारे स्पष्ट जानकारी नहुने र सरकारले समेत मूल्य निर्धारण नगरेका कारण विचौलियाले त्यसको लाभ उठाइरहेको किसानहरूको भनाइ छ।
जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायत व्यावसायिक रूपमा खेती गर्दा पनि मूल्य पाउन कठिन भइरहेको बताउनुभयो। “विचौलियाको भर पर्नुपर्ने हुँदा घाटा खेप्नु परेको छ,” उहाँको भनाइ छ।
जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन्।
विशेषगरी चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्। तर, सरकारले मूल्य निर्धारण नगर्दा विचौलियाले तोकेको मूल्यमै बेच्न बाध्य भएको कृषक पासाङ शेर्पाले गुनासो गर्नुभयो। “गाउँमा हल्लाको भरमा मूल्य तोकिन्छ।
त्यसै मूल्यमा बेच्नुपर्छ। पछि थाहा हुन्छ कि हामीले घाटामा बेचेका रहेछौँ,” उहाँले भन्नुभयो। कृषकहरूका अनुसार यस्तो समस्या समाधानका लागि सरकारले जडीबुटीको मूल्य तोक्नुपर्ने र बजार विस्तारका लागि सहजीकरण गर्नुपर्ने आवश्यक छ।

