महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

महोत्तरी, १५ असोज – मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ भरिने चलन सुरु भएको छ। पूmलपातीको सन्ध्या आरतीसँगै शक्तिपीठ, मन्दिर र प्रतिमास्थलमा भक्तजनले आ–आफ्नो भाकलअनुसार ‘खोइँछ’ भरिरहेका छन्।

आज नवरात्रको अन्तिम दिन महानवमीको अवसरमा पनि श्रद्धालु लामबद्ध छन्। सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमामा प्राणप्रतिष्ठा भएपछि दर्शनका लागि शक्तिपीठ खुला भएका थिए। पूmलपातीको सन्ध्या आरतीपछि ‘खोइँछ’ भर्ने क्रम सुरु भई महानवमीको मध्यरातसम्म जारी रहनेछ।

मटिहानी–७ का ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डलका अनुसार, विभिन्न समयमा गरिएको भाकलअनुसार देवीलाई ‘खोइँछ’ भर्ने परम्परा यहाँ पुरानो छ। मैथिल भाषामा दशहरा भनिने यस पर्वको सप्तमी तिथिबाट पूmलपाति राखेर कालरात्रि पूजाआराधना पछि ‘खोइँछ’ भर्ने क्रम सुरु हुन्छ।

‘खोइँछ’मा देवीको सारीको अँचरा (पोल्टा)मा वस्त्र, सौन्दर्य प्रसाधन, धातुका गहना, फलफूल र नगद भेटी राखिन्छ। हाल महोत्तरीमा सोनामाई देवी शक्तिपिठ (औरही), पञ्चधुरा माई मन्दिर (बर्दिवास), दुर्गामन्दिर (बर्दिवास–१ र १४) र जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा भक्तजनको भीड लागेको छ। पुरुष पनि सहभागी हुन सक्ने भए पनि यो विधिमा महिला बढी सहभागी हुने गर्छन्।

मटिहानीस्थित दुर्गा मन्दिरमा मात्र नभई भारतको मधुवनी जिल्लाका भक्तजन पनि ‘खोइँछ’ भर्न आएका छन्। सोनामाईस्थानका पुजारी कामेश्वर झाका अनुसार, ‘खोइँछ’ भरिदा धन, आरोग्य र इच्छित मनोकामना पूरा हुने विश्वास मिथिलामा रहेको छ।

पूmलपातीदेखि नै शुरू भएको बलि दिने परम्परा सप्तमीदेखि नवमीसम्म जारी रहन्छ। महोत्तरीको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा हजारौं भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्नका लागि आएका छन्।

Facebook Comments Box