थारू समुदायले आज अटवारी पर्व मनाउँदै
दाङ, ८ भदौ
पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व विभिन्न कार्यक्रमसहित मनाइरहेका छन्। यो पर्व थारू समुदायका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ। पर्वको अवसरमा शुक्रबार राति दर खाएर व्रत बस्ने, साँझ रोटी पकाएर देउतालाई चढाइदिएपछि मात्रै खाने, र आइतबार बिहान भात–तरकारी पकाएर अग्रासनको रूपमा देउतालाई चढाइसकेपछि मात्र खाने परम्परा छ।
घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी, दही, फलफूल लगायतका परिकार अग्नि देवतालाई चढाइदिएपछि दिदीबहिनीका लागि छुट्टाइएका परिकार खाएर पर्व मनाइन्छ। “अटवारी पर्व हाम्रो समुदायमा तिजजस्तै महत्वपूर्ण पर्व हो। दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छन्,” उनले भनिन्।
घोराही–३ का सुरज चौधरीले भने, “व्रत बसेको पहिलो दिन अग्रासन चढाएपछि मात्र खाना खाने चलन छ। दोस्रो दिन बिहान भात र तरकारी पकाइ अग्रासन दिने गरिन्छ। यो पर्व कुसेऔँसीपछि पर्ने पहिलो आइतबार मनाइन्छ।” पर्वमा दाजुभाइले आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न परिकार घरमा पुर्याउँछन्।
पौराणिक कथाअनुसार पनि अटवारी पर्व भीमको पूजा र ऐतिहासिक घटनासँग जोडिएको छ। महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङ्गीशरणबीचको सम्बन्धअनुसार, जब शत्रुहरूले राजा दङ्गीशरणमाथि आक्रमण गर्ने योजना बनाएका थिए, भीमले पानी नखाई राजा पक्षमा लडेर विजय प्राप्त गरेका थिए। यसैले पुरुषहरूले बलियो हुनका लागि व्रत बस्ने प्रचलन चलेको छ।
यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अटवारी पर्वका दिन आज सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा रहेका थारू बसोबास भएका जिल्लामा लागू गरिएको हो।

