कञ्चनपुरका वडाध्यक्ष कुँवरद्वारा ज्येष्ठ नागरिक र अपाङ्गलाई तलब–भत्ता वितरण

कञ्चनपुर, ६ असोज – भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफ्नो तलब–भत्ता रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरेका छन्।

घटस्थापनाको अवसरमा आज कुँवरले रु २ लाख ६२ हजार रकम वितरण गरेका हुन्। उनले वडाका १४२ जना ज्येष्ठ नागरिक र २० जना अपाङ्गता भएका व्यक्तिलाई जनही रु १,५०० का दरले सहयोग प्रदान गरे।

कुँवर २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भएदेखि नै राज्यबाट पाउने सेवा–सुविधा नलिने घोषणा गर्दै आएका छन्। दोस्रो कार्यकालमा समेत नेपाली कांग्रेसबाट निर्वाचित भएका उनले लगातार आठ वर्षदेखि आफ्नो पारिश्रमिक रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।

“मैले पाउने सबै सुविधा रकम समाजका विपन्न र असहाय नागरिकलाई नै दिने गर्छु,” वडाध्यक्ष कुँवरले भने, “यसपालि पनि दसैँको अवसरमा ज्येष्ठ नागरिकलाई खुसी साट्न सहयोग स्वरूप यो रकम वितरण गरेको हुँ।”

उनले आफूले पाउने मासिक पारिश्रमिक रु २२ हजार ४७० जम्मा गरेर हरेक वर्ष दसैँका बेला वितरण गर्ने गरेको बताए। वडाध्यक्ष कुँवरले वडाका केही ज्येष्ठ नागरिकको औषधि–उपचार खर्च समेत व्यक्तिगत रूपमा बेहोर्दै आएको जानकारी पनि दिए।

Facebook Comments Box