भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार
भोजपुर, ५ असोज – भौगोलिक रूपमा विकट मानिने टेम्केमैयुङ गाउँपालिकामा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयवासीको दैनिकीमा महत्वपूर्ण परिवर्तन आएको छ । दुर्गम गाउँबस्तीमा पनि विद्युत् सेवा पुगेसँगै जनजीवन सहज बनेको हो ।
गाउँपालिकाको वडा नं ४ नागीस्थित लुङ्गिन बस्ती, जुन जंगलको बीचमा अवस्थित छ, त्यहाँसम्म ठूलो लगानीसहित विद्युत् विस्तार गरिएको छ । स्थानीयवासी रामबहादुर राईका अनुसार, “स्थानीय सरकार गठनपछि हाम्रो गाउँमा बिजुली बल्यो, अब अँध्यारोमा बस्नुपर्ने बाध्यता छैन ।”
विद्युत् विस्तारले सूचना तथा सञ्चारको पहुँच बढाएको छ । स्थानीय बलिराज राईले बताएअनुसार, अहिले गाउँमै इन्टरनेट प्रयोग गर्न, टेलिभिजन हेर्न र विभिन्न विद्युतीय उपकरण चलाउन सम्भव भएको छ । उहाँले भन्नुभयो, “बिजुली आएपछि गाउँ उज्यालो भएको छ, बालबालिकाले पनि उज्यालोमा सहज रूपमा पढ्न पाएका छन् ।”
गाउँपालिकाको केन्द्र अन्नपूर्ण पुग्न तीनदेखि चार घण्टासम्म जंगल हुँदै यात्रा गर्नुपर्ने भए पनि अहिले सबै वडामा विद्युत् सेवा विस्तार भइसकेको छ । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टेम्केमैयुङ गाउँपालिकाका सबै बस्ती विद्युत्को पहुँचमा आइसकेका छन् ।

