वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्बभन्दा बढी राजस्व सङ्कलन
पर्सा, २ असोज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । यो सो अवधिको निर्धारण गरिएको लक्ष्यको करिब ९१ प्रतिशत हो । भन्सार विभागले कार्यालयलाई दुई महिनामा रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो ।
तर विषम परिस्थितिमा पनि कार्यालयले उत्साहजनक उपलब्धि हासिल गरेको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए । साउन महिनामा मात्रै कार्यालयले रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो भने भदौ महिनामा रु २० अर्ब १२ करोड संकलन गरिएको छ ।
भदौ महिनामा जेनजी आन्दोलनका कारण एक दिन राजस्व सङ्कलन ठप्प भए पनि मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व उठाउन सफल भएको कार्यालयको दाबी छ । भदौ १२ गते एकैदिनमा रु २ अर्ब ३७ करोड, भदौ १७ गते रु १ अर्ब ९२ करोड, भदौ २८ गते रु १ अर्ब ७१ करोड र भदौ ३१ गते रु १ अर्ब ११ करोड राजस्व संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
तर आन्दोलनका कारण भदौ २५ गते शून्य राजस्व संकलन भएको र अन्य केही दिनहरूमा संकलन न्यून भएको कार्यालयले जनाएको छ । यसरी, दुई महिनाको अवधिमा वीरगञ्ज भन्सारले राजस्व संकलनमा लक्ष्य नजिक पुर्याउँदै सरकारको राजस्व आयमा महत्वपूर्ण योगदान गरेको छ ।

