राष्ट्रपति चुनावमा पुटिन ठूलो मतान्तरले विजयी, रुसको पाँचौंपटक राष्ट्रपति बन्दै

काठमाडौं, ५ चैत – भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा ठूलो मतान्तरले विजयी भएको दाबी गरेका छन्। यो जितपछि पुटिन रुसको राष्ट्रपति पाँचौंपटक बन्दै छन्। निर्वाचनको नतिजापछि उनले ८७ प्रतिशत मत प्राप्त गरेको दाबी गरेका छन्। यो घोषणापछि उनले रुसको लोकतन्त्र धेरै पश्चिमी देशको भन्दा पारदर्शी रहेको जिकिर गरे। राष्ट्रपति चुनावमा पुटिनविरुद्ध उभिएका तीन जना उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भनिएको थियो।

बीबीसीका अनुसार वास्तवमा कुनै पनि विश्वसनीय विपक्षी नेतालाई चुनावमा उम्मेदवार बन्न दिइएन। चुनावी नतिजा घोषणा भएपछि पुटिनका सबैभन्दा मुखर आलोचक विपक्षी नेता अलेक्सी नभाल्नीका समर्थकले प्रतीकात्मक प्रदर्शन गरेका थिए। धेरैवटा पश्चिमी देशले रुसको राष्ट्रपति चुनाव स्वतन्त्र वा पारदर्शी नभएको टिप्पणी गरेका छन्।

जर्मनीले यसलाई एक अधिनायकवादी नेताको नेतृत्वमा गरिएको ‘नक्कली चुनाव’ भनेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘रुसी तानाशाहले अर्को चुनावको नाटक मञ्चन गरेको छ।’

Facebook Comments Box