आश्विन कृष्ण पक्षः आजदेखि सोह्रश्राद्ध आरम्भ
काठमाडौँ, २३ भदौः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म सम्पन्न गर्नुपर्ने छ ।
सोह्रश्राद्धका क्रममा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसलाई अपर वा प्रेत पक्ष पनि भनिन्छ । वैदिक सनातन परम्पराअनुसार ठूला चाडपर्व वा यज्ञादि गर्नु अघि पितृलाई सम्झेर श्राद्ध गर्ने चलन छ ।
धर्मशास्त्रविद्हरूका अनुसार—
-
यस समयमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता छ ।
-
श्राद्ध अपराह्नकालमै गर्नुपर्ने शास्त्रीय वचन छ ।
-
जाताशौच, मृताशौच वा पत्नी रजस्वलाको अवस्थामा बाहेक श्राद्ध छोड्नु हुँदैन ।
-
कारणवश रोकिएमा आश्विन कृष्ण औंसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिन्छ ।
-
त्यतिबेला पनि गर्न नसकेमा कार्तिक कृष्ण औंसी (लक्ष्मीपूजा), वा वृश्चिक सङ्क्रान्तिसम्म गर्ने विकल्प धर्मशास्त्रमा उल्लेख छ ।
-
अन्तिम विकल्पका रूपमा ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप १० महिनासम्म गर्न सकिन्छ, जसबाट पनि पितृ तृप्त हुने विश्वास छ ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कतिपय पुरोहितले बिहानै श्राद्ध गर्ने चलन बसाले पनि त्यो शास्त्रसम्मत होइन । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष (बडादसैँ) सुरु हुने भएकाले दशैँ मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने परम्परा रहिआएको छ ।

